च्यासलमा गएनन् ओली, वादलले सुनाए सन्देश

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा देखिएका वर्तमान चुनौतीहरूको दृढताका साथ सामना गर्दै अघि बढ्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गरेका छन्।

बुधबार नेकपा स्थापना दिवसका अवसरमा पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा पठाएको शुभकामना सन्देशमार्फत उनले यस्तो आह्वान गरेका हुन्। स्वास्थ्य अवस्थाका कारण कार्यक्रममा उपस्थित हुन नसकेपछि अध्यक्ष ओलीको सन्देश उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले पढेर सुनाएका थिए।

अध्यक्ष ओलीले आफ्नो सन्देशमा इतिहासदेखि वर्तमानसम्म गौरवपूर्ण भूमिका र उपलब्धिको हिस्सेदार रहेको नेकपा एमालेका लागि पछिल्लो निर्वाचनको परिणाम प्रतिकूल रहेको स्वीकार गरेका छन्।

उनले देशभक्त शक्तिहरूका लागि इतिहासमा पटक-पटक यस्ता प्रतिकूलताहरू आउने गरेको उल्लेख गर्दै एमालेले ती सबैलाई झेलेर यहाँसम्म आइपुगेको बताए।

अहिलेको असफलताका विषयमा समग्र पार्टीभित्र गम्भीर समीक्षा गर्दै पुनः आन्दोलनलाई सफलताको उचाइमा पुर्‍याउन सबै नेता-कार्यकर्ता एकताबद्ध हुनुपर्नेमा उनले विशेष जोड दिए।

पार्टीको ऐतिहासिक जीवनमा चुनौतीहरू पटक-पटक आए पनि एमालेले आफ्नो उद्देश्यको झण्डा कहिल्यै झुक्न नदिएको र गन्तव्य पनि नबदलिएको ओलीको सन्देशमा उल्लेख छ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्प कहिल्यै नछाड्ने प्रण गर्दै उनले आजका समयका चुनौतीहरूलाई सामना गर्न पार्टीलाई अझ बलियो र एकढिक्का बनाउनुपर्ने बताए।

सो अवसरमा उपाध्यक्ष बादलले पनि पार्टी आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन सबैले एकजुट भएर अघि बढ्नुको विकल्प नभएको धारणा राखे।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.