नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी महाधिवेशनबाट तलदेखि माथिसम्म नेतृत्वमा युवालाई अवसर दिने बताएका छन् ।
पार्टी स्थापना दिवसको अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै असोजसम्ममा महाधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।
उनले भने, ‘महाधिवेशनबाट युवा र गतिशील नेतृत्वलाई प्राथमिकता दिने, हामी पुराना पुस्ताहरूले पनि नयाँ भूमिकामा प्रस्तुत हुने गरी छलफल गर्दैछौं। हामीले ६ महिनाभित्र महाधिवेशन गर्छौँ । र पार्टीलाई पुनर्गठन गरेर जान्छौँ ।’
उनले वामपन्थी र कम्युनिस्ट आन्दोलनको पुनर्गठनको विकल्प नभएको बताए । पार्टीमा तीन पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूको लाइन रहेको बताए । उनले अहिले मन्त्री र प्रधानमन्त्री हुन नपरेपछि पार्टीलाई सच्याएर अगाडि बढाउने अवसर प्राप्त भएको बताए ।
प्रचण्डले निराशाको कुरा सुनाउने मान्छे आफ्ना अगाडी नआए हुन्थ्यो जस्तो लाग्ने गरेको समेत बताए । उनले कसैले पनि निराशा व्यक्त गर्नु नहुने र निराशा व्यक्त गर्ने मान्छे आफ्नो अगाडी नआए हुन्थ्यो भन्ने लागेको बताए ।
साथै उनले छिटै कम्युनिस्ट पार्टीप्रति जनताको उभार छिटै आउने दाबी समे गरे । ‘सोचेभन्दा छिटै कम्युनिस्ट पार्टीमा उभार आउँदैछ’, प्रचण्डले भने, ‘लक्षण त देखिएकै छ सरकारका काम कारबाहीको ।’
उनले जसरी एउटा परिवारमा सबै पुस्ताका मानिस अपरिहार्य हुन्छ त्यस्तै समाज र पार्टीमा पनि हुने बताए । त्यसका लागि उनले पहिला आफ्नै पार्टी पुनर्गठित गर्ने भन्दै पार्टीमा बसेर रडाको गर्नेहरू नेता कार्यकर्तालाई बाटो लाग्न सुझाव दिए ।
‘ मैले त साथीहरूलाई भनेको छु । सच्चिन चाहने जति हामीसँग बस्ने हो । नसच्चिने गए हुन्छ भनेको छु’, प्रचण्डले भने, ‘हामीले एकता गरेका छौ धेरै बनाएका छौ हामी कसैलाई फुत्किन त दिँदैनौ । तर यहाँ बसेर रडाको गर्ने चाही नबसे हुन्छ । आफ्नो बाटो लागे पनि हुन्छ । ’
