भरतपुरको पार्टी प्यालेसमा विवाहको भोज खाँदा बिरामी हुनेको सङ्ख्या ९३ पुग्यो

भरतपुर महानगरपालिका–४, धर्मचोकस्थित एक पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि ‘फुड पोइजनिङ’ भई बिरामी हुनेको सङ्ख्या ९३ पुगेको छ। तीमध्ये ५० जना अहिले पनि विभिन्न अस्पतालमा उपचाररत छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार गत वैशाख २३ गते भोज खाएका व्यक्तिहरूमा स्वास्थ्य समस्या देखिन थालेको थियो।

बिरामीहरूको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ। केही बिरामीहरू भने काठमाडौँका निजामती कर्मचारी (सिभिल) अस्पताल र त्रिवि शिक्षण अस्पताल लगायतका स्वास्थ्य संस्थामा भर्ना भएका छन्।

प्रहरी उपरीक्षक पुरीले बताए अनुसार बिरामीमध्ये दुई जनालाई सुरुमा सघन उपचार कक्षमा राखिएको थियो । तर अहिले उनीहरूको अवस्थामा सुधार आएपछि वार्डमा सारिएको छ। हाल उपचाररत सबै बिरामीहरूको अवस्था खतरामुक्त रहेको जानकारी प्राप्त भएको छ। बिरामीहरूमा उच्च ज्वरो, पखाला र उच्च रक्तचाप जस्ता लक्षणहरू देखिएका छन्।

घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रहरीले पार्टी प्यालेसका दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले यस घटनाको विस्तृत अध्ययन र अनुसन्धान अघि बढाएको छ।

डिभिजन प्रमुख प्रमोदचन्द्र पौडेलले चिकित्सकहरूको प्रारम्भिक मौखिक रिपोर्टले विषाक्त खाना (फुड पोइजनिङ) कै कारण यो अवस्था आएको देखाएको र बाँकी विषय अनुसन्धानपछि स्पष्ट हुने बताए।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.