रोल्पाको थवाङमा भएको जीप दुर्घटनामा मृत्यु भएका एकै परिवारका ६ जनाको आइतबार सामुहिक अन्त्येष्टि गरिएको छ ।
पुर्वी रुकुमको सिस्ने गाउँपालिका वडा नं ५ टाँकुरा गाँउका एउटै परिवारका ६ जनाको सानीभेरी किनारमा सामुहिक अत्येष्टि गरिएको हो ।
अमेरिकाबाट आएका दिपक बुढाथोकीले आफ्नी आमा तिलकुमारी बुढाथोकी, पत्नी युवा बुढाथोकी, छोरा दिब्यम बुढाथोकी, भाई गोर्ख बुढाथोकी, कान्छी आमा ओमकुमारी बुढाथोकी र कान्छिआमाका छोरा भाई सन्दिप बुढाथोकीलाई दागबत्ती दिएका थिए ।
दिपकले श्रीमती सहित परिवारका सदस्यलाई एकहप्ता भित्रै अमेरिका बोलाएका थिए । तर भाकल पुजा गर्न जाने क्रममा शक्रबार भएको दुर्घटनामा परेर उनको परिवार नै उजाडिएपछि आफैँ स्वदेश फर्केर सामुहिक दागबत्ती दिंदा नदी किनार पुरै शोकमा डुबेको थियो ।
दुर्घटनामा परेर मृत्यु भएका सोही गाउँका अन्य तीन जनाको भने आइतबार अन्तेष्टि गरिएको थियो ।
