म्याग्दी सदरमुकाम बेनीबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६७५ नम्बरको विद्युतीय सवारी मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत सदरमुकाम कुश्मा नजिकै माझमेलामा आज दुर्घटना भएको छ ।
दुर्घटनामा परी १० जना घाइते भएका छन् । तीव्र गतिमा गुडिरहेको गाडी चिप्लिएर नालीमा खसेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिनेश पौडेलले जानकारी दिए ।
उनका अनुसार घाइते हुनेमा म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाता तोपानीका ६० वर्षीया देवी खत्री, कास्की, पोखरा महानगरपालिका–१३ बस्ने ५५ वर्षीय लालवीर दमै, सोही ठाउँकी २५ वर्षीया सीता परियार, पर्वतको जलजला गाउँपालिका–२ की ३८ वर्षीया लिला परियार, उनका छोरा आठ वर्षका दिप्सन परियार रहेका छन् ।
यसैगरी ४९ वर्षीय विष्णु दमै, १९ वर्षीय सुस्मिता दमाइ, पोखरा महानगरपालिका–१० बस्ने ३८ वर्षीया सुशीला थापा ५० वर्षीया लिला थापा रहेको प्रहरीले जनाएको छ ।
सबै घाइतेको प्रदेश अस्पताल पर्वतमा उपचार भइरहेको छ । घाइते अधिकांशको टाउको र हातखुट्टामा चोट लागेको छ । सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
