नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि ४७ जनाले आवेदन दिएका छन्। आवेदन दिने अन्तिम म्याद सोमबार साँझ ५ बजेसम्म ४७ जनाको आवेदन परेको हो।
अध्यक्ष सिफारिस गर्न गठित समितिले वैशाख १५ गते सूचना जारी गर्दै योग्य नेपाली नागरिकलाई सात दिनभित्र आवेदन दिन आह्वान गरेको थियो। इच्छुक उम्मेदवारहरूले अर्थ मन्त्रालयअन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको समितिको सचिवालयमा व्यक्तिगत विवरण पेश गरेका हुन्।
धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार, पुँजी बजार, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष अनुभव भएका व्यक्तिहरूले आवेदन दिन पाउने व्यवस्था छ।
यस पदका लागि उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने, उच्च नैतिक चरित्र भएको र सम्बन्धित क्षेत्रमा कम्तीमा सात वर्षको पेशागत अनुभव भएको हुनुपर्ने प्रावधान छ।
प्राप्त आवेदनमध्येबाट सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद्मा पठाउनेछ र तीमध्येबाट सरकारले एक जनालाई अध्यक्षमा नियुक्त गर्नेछ।
