अहिले नेपाल आर्थिक छलाङको प्रस्थान बिन्दुमा छ: अर्थमन्त्री डा.स्वर्णिम वाग्ले

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक अवस्था १० वर्षअघिको भारतको अवस्थासँग मिल्दोजुल्दो रहेको बताए । एक कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले अब नेपालले आर्थिक रूपान्तरणमा ठूलो छलाङ मार्नुपर्ने बताए ।

उनले सन् २०१४ मा भारतको प्रतिव्यक्ति आय १ हजार ५ सय डलर रहेको र अहिले नेपाल पनि उक्त बिन्दुमा पुगेको उल्लेख गर्दै यसलाई नेपालका लागि ‘आर्थिक प्रस्थान बिन्दु’ भएको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकार पूर्ण पाँच वर्ष चल्ने दाबी गर्दै मन्त्री वाग्लेले यसले लगानीकर्तालाई नीतिगत स्थिरता र सुनिश्चितता प्रदान गर्ने बताए । नेपाल भूपरिवेष्ठित देश भएकाले भौगोलिक चुनौतीलाई चिर्न डिजिटलाइजेसन नै मुख्य हतियार हुने उनको भनाइ रहेको छ ।

मन्त्री वाग्लेले भने, ‘हामी सन् २०२७ को चुनावी चक्र पर्खिरहेका थियौँ, तर ‘जेनजी’ आन्दोलनले हामीलाई समय अगावै जिम्मेवारी दिएको छ । अब हामी सुशासन र आर्थिक वृद्धिको स्पष्ट मार्गचित्रसहित अघि बढ्छौँ ।’ उनले विगत १२ वर्षदेखि आफूले उठाउँदै आएको ‘तौलरहित र दूरीरहित’ अर्थतन्त्रको अवधारणा अब कार्यान्वयन गर्ने समय आएको बताए । विगतमा नीतिगत कब्जा र भ्रष्ट राजनीतिज्ञहरूसँगको अस्वस्थ सम्बन्धले व्यावसायिक वातावरण बिग्रिएको उल्लेख गर्दै अब त्यस्तो अवस्था अन्त्य हुने स्पष्ट पारे ।

‘कानुन कार्यान्वयनमा हामी निर्मम र कठोर हुनेछौँ, तर इमानदार उद्यमी तथा व्यवसायीहरूले डराउनुपर्ने कुनै कारण छैन’, उनले भने । आगामी बजेट निजी क्षेत्रमैत्री हुने बताउँदै मन्त्री वाग्लेले लगानी सुरक्षा, सम्पत्तिको रक्षा र करार कार्यान्वयनलाई उच्च प्राथमिकता दिइने बताए । इमानदार व्यवसायीलाई सरकारले पूर्ण संरक्षण गर्ने र निजी क्षेत्रको मनोबल उकास्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ रहेको छ ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.