तातोपानी नाका सडक पाँच दिनदेखि बन्द

केही दिनदेखि सामान्य वर्षा हुँदा तातोपानी नाकास्थित कोदारी राजमार्ग पाँच दिनदेखि पूर्णरुपमा बन्द भएको छ ।

नाकाको एक किलोमिटर दूरी यता इको पहिरोले नाका सडक पूर्ण रुपमा बन्द भएको छ । इको पहिरो क्षेत्रमा सडक भासिएर भोटेकोशी नदीमा मिसिएकाले मालवस्तु बोकेका कन्टेनर लगायत सम्पूर्ण यातायातका साधन पूर्ण रुपमा आवतजावत बन्द भएका छन् ।

इको पहिरो विगत वर्षदेखि नै निरन्तर झर्ने र सामान्य वर्षले पनि सडक भासिने समस्या हुँदै आएको छ ।पाँच दिनदेखि सडक बन्द हुँदा चीनबाट तातोपानी नका हुँदै तातोपानी भन्सार कार्यालयमा जाँचपासका लागि आउन थालेका मालवस्तु बोकेका कन्टेनरका फलफूलजन्य सामान कुहिन थालेको नेपाल हिमालय सीमापार वाणिज्य संघका सदस्य शारदाप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

चीनबाट इको पहिरो क्षेत्र आइपुगेका दर्जन बढी कन्टेनर स्याउ, लत्ताकपडा, विद्युतीय सामाग्री लगायतका सामानहरू बाटोमै रोकिएका छन् ।इको पहिरो खुलाउन ठूला मसिन प्रयोग गर्नुपर्ने अवस्था छ ।

इको पहिरोबाट लेदो आइरहेको छ भने तलबाट सडक भासिएको छ । ठूला मेसिन प्रयोग गरेर इको पहिरो खुलाएमा पहिरो माथिका २५० बढी घरधुरी, गुम्बा, विद्यालय, स्वास्थ्य चौकी लगायतका भौतिक संरचना बग्ने उच्च जोखिम रहेको भोटेकोशी गाउँपालिका–२ का अध्यक्ष कुमार श्रेष्ठले बताउनुभयो ।

पहिरो माथिका बस्ती संरचना जोगाउदै पहिरो क्षेत्रमा बन्द भएको सडक खुलाउन प्राविधिक टोली आवश्यक रहेका उहाँको भनाइ छ ।

सडक डिभिजन कार्यालय चरिकोटअनुसार इको पहिरो नियन्त्रण गर्न सडकमूनि भोटेकोशी नदी किनाराबाट पिल्लर उठाउन सुरु गरिएको थियो । तर परराष्ट्र मन्त्रालयबाट चिठी आएपछि उक्त काम रोकिएको छ ।

उक्त पहिरो नियन्त्रण  र सडक निर्माणका काम चिनियाँ कम्पनीले गर्ने भन्दै पिल्लर उठाउने कार्य रोकिएको सिन्धुपाल्चोक क्षेत्र नं। १ मा सङ्घीय सांसद भरतप्रसाद पराजुलीले बताउनुभयो । तर हालसम्म चिनियाँ कम्पनी इको पहिरो क्षेत्र आइपुगेको छैन् ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.