जनकपुरमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पतालमा तोडफोड

जनकपुरधाममा शल्यक्रिया गरिएका एक बिरामीको मृत्यु भएको छ। महोत्तरीको बलवा नगरपालिका–१ बञ्चौरीकी ३६ वर्षीया रागनीदेवी पासवानको कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर हस्पिटलमा शल्यक्रियापछि मृत्यु भएको हो।

रागनीको बुधबार साँझ पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गरिएकोमा शुक्रबार बिहान करिब ३ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ।

रागनीको मृत्यु भएपछि आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाएका छन्। रागनीको मृत्युपछि आक्रोशित परिवारजन र आफन्तले अस्पतालमा तोडफोड गरेका छन्। तोडफोडबाट अस्पतालको अगाडि भागमा क्षति पुगेको छ।

गाउँका स्वास्थ्यकर्मी राम पुकारको सल्लाहमा बुहारीलाई गत वैशाख ७ गते चेकजाँचको लागि अस्पतालमा ल्याइएको रागनीका ससुरा दयाराम पासवानले बताए। उनले चिकित्सक युरो सर्जन अमरेश कर्णको सल्लाहमा बुधबार अस्पतालमा भर्ना गरिएको थियो।

दयारामले १ लाख २५ हजार रुपैयाँमा ल्याप्रोस्कोपी विधिबाट पेटमा प्वाल गरी पित्तथैली र मिर्गौलाभित्र रहेको पत्थरी निकाल्ने कुरा अस्पतालसँग भएको तर चिकित्सकले पेट चिरेर शल्यक्रिया गर्दा मृत्यु भएको आरोप लगाए। उनले अप्रेसनको क्रममा लापरबाही भएको भन्दै चिकित्सक र अस्पताललाई कारबाही तथा क्षतिपूर्ति माग गरेका छन्।

रागनीको शल्यक्रियामा संलग्न चिकित्सक कर्णले युरेटरमा १३.७ एमएमको पत्थरी र मिर्गौलामा सानो पत्थरी भएको जानकारी भएपछि परिवारजन र बिरामीको सहमतिमै अप्रेसन गरेको दावी गरे। उनले उपचारमा कुनै लापरबाही नभएको दाबी गरे।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.