धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दरखास्त खुला

नेपाल धितोपत्र बोर्ड (SEBON) को रिक्त अध्यक्ष पद पूर्ति गर्न सरकारले औपचारिक प्रक्रिया अघि बढाएको छ।

सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो। सूचना प्रकाशित भएको मितिबाट ७ दिनभित्र इच्छुक व्यक्तिहरूले आवश्यक कागजातसहित व्यक्तिगत विवरण पेश गर्नुपर्ने भएको छ।

आवेदन दिने अन्तिम मिति वैशाख २१ गते तोकिएको छ। इच्छुक उम्मेदवारहरूले अर्थ मन्त्रालय अन्तर्गतको सम्बन्धित महाशाखामा रहेको सिफारिस समितिको सचिवालयमा दरखास्त बुझाउनुपर्नेछ।

धितोपत्र बोर्डको अध्यक्ष पद गत वैशाख ४ गते देखि खाली छ। तत्कालीन अध्यक्ष सन्तोष नारायण श्रेष्ठ ले राजीनामा दिएपछि यो पद रिक्त रहेको हो। उनलाई २०८१ मंसिर १० गते अध्यक्ष पदमा नियुक्त गरिएको थियो। नयाँ अध्यक्ष छनोटका लागि सरकारले तीन सदस्यीय सिफारिस समिति गठन गरिसकेको छ। समितिको संयोजकमा डा.गुणाकर भट्ट रहेका छन् भने सदस्यहरूमा अर्थसचिव घनश्याम उपाध्याय र पूर्वबैंकर भुवनकुमार दाहाल छन्।

प्राप्त आवेदनहरूको अध्ययन, मूल्याङ्कन र छलफलपछि सिफारिस समितिले उपयुक्त उम्मेदवारको नाम सरकारसमक्ष सिफारिस गर्नेछ। त्यसपछि मन्त्रिपरिषद्ले अन्तिम निर्णय गरी धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्त गर्ने प्रक्रिया पूरा हुनेछ।

धितोपत्र बजारको नियामक निकायको नेतृत्व चयनका लागि छोटो समयसीमा तोकिएसँगै योग्यता, अनुभव र बजार सुधारमा दृष्टि राख्ने व्यक्तिलाई प्राथमिकता दिइने अपेक्षा गरिएको छ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.