पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको चोरमारा सडक खण्डमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मध्यबिन्दु नगरपालिका –७ स्थित हरियाली जंगलमा ट्रक र कार एक–आपसमा ठोक्किँदा कार चालक पोखरा महानगरपालिका –२६ का ३३ वर्षीय दिपु गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुम्किबासबाट कावासोतीतर्फ आउँदैगरेको लु १ ख ९५८० नम्बरको चामल लोड भएको ट्रक र विपरित दिशामा गुडिरहेको ग.प्र. ०१–००१ च ०४७४ नम्बरको कार एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका कार चालक गुरुङको उपचारको क्रममा मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो । ठक्कर दिने ट्रक र चालक रुपन्देहीको सेहरी गाउँपालिकाका –१ का ४४ वर्षीय महेन्द्र कुर्मीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
