नेपाली हिप-हप संगीतलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित ‘द र्यापर: लेट द भर्स स्पिक’ सिजन १ को घोषणा गरिएको छ। यो नेपालकै पहिलो कमर्शियल र्याप रियालिटी शो भएको निर्माणटिमको दाबी छ।
एनएक्सजी इन्टरटेनमेन्टको आयोजना रहेको शोको निर्देशन युवराज साउद हुन्। शो आगामी जेठ दोस्रो सातादेखि प्रसारण गरिने भनिएको छ तर मिति तोकिएको छैन। शोमा जम्मा २० एपिसोड रहनेछन्।
डिजिटल अडिसनमार्फत देशभरबाट उत्कृष्ट ६४ जना प्रतिस्पर्धी छनोट गरिएको छ। उनीहरूले आफ्ना लिरिक्स, संगीत, कम्पोजिसन र र्याप क्षमतालाई फरक-फरक शैलीमा प्रस्तुत गर्नेछन्।
शोका मुख्य निर्णायक को रूपमा गिरीश खतिवडा (गोर्खाली जी) रहेका छन्। उनले शब्द, संगीत, प्रस्तुति, टेक्निकल पक्ष र बहुआयामिक क्षमताका आधारमा प्रतिस्पर्धीहरूको मूल्याङ्कन गर्नेछन्।
त्यस्तै, स्क्वाड लिडरहरूमा विवश जमरकट्टेल (विवश जेके), बिबेक घोरासैनी (बीजी बिर्गोर्खाली), संकेत श्रेष्ठ (ओएमजी स्पार्क) र जगत पुन (रेक्स) रहेका छन्। उनीहरूले प्रतिस्पर्धीहरूलाई मार्गदर्शन गर्दै उनीहरूको कला निखार्न सहयोग गर्नेछन्।
प्रतिस्पर्धाको विभिन्न चरण पार गर्दै अन्ततः टप १६, टप १० हुँदै टप ४ प्रतिस्पर्धी फाइनलमा पुग्नेछन्। टप १६ देखि टप १० सम्म निर्णायक र दर्शकको ५०/५० मतका आधारमा निर्णय हुनेछ भने त्यसपछि दर्शकको मत मात्रै निर्णायक हुनेछ।
विजेताले नगद रु. १५ लाखसहित ट्रफी प्राप्त गर्नेछन्। साथै, फाइनलिस्टहरूलाई अन्तर्राष्ट्रिय टुरको अवसर पनि प्रदान गरिनेछ।
डिजिटल अडिसन वैशाख १३ गतेसम्म खुला गरिएको थियो, जसमा ७ हजारभन्दा बढी सहभागीले आवेदन दिएका थिए।
