संसद् रोकेर सरकारले ल्यायो दुई अध्यादेश

सरकारले संसद् अधिवेशन रोकेर दुई वटा अध्यादेश ल्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश ल्याएको हो ।

संसद् अधिवेशन आह्वानको भोलिपल्टै अधिवेशन स्थगित गरेर सरकारले अध्यादेशको बाटो रोजेको हो । संसद् चलिरहेका बेला अध्यादेश ल्याउन पाइँदैन ।

उक्त अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस भएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले मन्त्रिपरिषद्बाट दुई अध्यादेश सिफारिस भएर आएको र अहिले अध्ययनको क्रममा रहेको बताए ।

वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सिफारिसअनुसार वैशाख ९ गते राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गतेका लागि संसद्को अधिवेशन आह्वान गरेका थिए । तर, वैशाख १० गते नै सरकारले अधिवेशन स्थगनका लागि सिफारिस ग¥यो । लगत्तै विशेष कारण देखाउँदै अधिवेशन स्थगित गर्ने निर्णय भएको थियो ।

सोहीअनुसार राष्ट्रपतिले कार्यालयबाट अधिवेशन स्थगनको सूचना जारी भएको थियो । संवैधानिक परिषद्मा नियुक्तिका लागि सरकारले अध्यादेशको बाटो रोजेको हो । संवैधानिक नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक परिषद्मा ६ जना सदस्य रहने व्यवस्था छ ।

जसमा प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायधीश, विपक्षी दलका नेता रहन्छन् । विपक्षी दलका नेता पनि सोमबार नै चयन भएका छन् । कांग्रेसले भिष्मराज आङदेम्बेलाई दलको नेता बनाएको छ ।

संवैधानिक निकायमा नियुक्तिका लागि संवैधानिक परिषदले पूर्णता पाएकै दिनमा सरकारले अध्यादेश ल्याएको हो ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.