बैंक तथा वित्तीय संस्थामा १० अर्ब राख्दै केन्द्रीय बैंक

 नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १० अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने भएको छ । केन्द्रीय बैंकले एक वर्ष अवधिका लागि उक्त निक्षेप बैंक तथा वित्तीय संस्थामा राख्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले लिन चाहेको निक्षेप रकम र दिने ब्याजदर तोकेर केन्द्रीय बैंकमा आवेदन दिनुपर्ने छ । त्यसका लागि बैंक तथा वित्तीय संस्थाले बुधबारसम्म केन्द्रीय बैंकमा आवेदन बुझाइ सक्नुपर्ने छ ।

केन्द्रीय बैंकले ३६६ दिनसम्मका लागि राख्न लागेको उक्त रकम मध्ये वाणिज्य बैंकमा ८ अर्ब, राष्ट्रियस्तरका विकास बैंकमा एक अर्ब ५० करोड र राष्ट्रियस्तरका फाइनान्स कम्पनीमा ५० करोड रहने छ । निक्षेपको ब्याजदर बैंक तथा वित्तीय संस्थाले त्रैमासिक रुपमा भुक्तानी दिनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

त्यसका लागि केन्द्रीय बैंकले शर्त पनि राखेको छ । केन्द्रीय बैंकले राख्न खोजेको निक्षेप लिने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष पूरा भएको हुनुपर्छ । त्यसैगरी न्यूनतम पूँजीकोष तोकिएको सीमामा रहेको, कुल खराब कर्जा ८ र खुद खराब कर्जा ३ प्रतिशतभन्दा धेरै नभएको हुनुपर्ने लगायत शर्त केन्द्रीय बैंकले राखेको छ ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.