अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंकका पूर्व अध्यक्ष राजमान तामाङ, सरकारी साक्षी चन्द्रबहादुर अधिकारी तथा रमेश आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिअनुसार बैंकका पूर्व अध्यक्ष तामाङ हिमाल तराई कन्स्ट्रक्सन कम्पनीका प्रोप्राइटर पनि हुन्।
घुस मुद्दामा प्रतिकुल बकपत्र गरेको अभियोगमा चन्द्रबहादुर अधिकारीलाई विपक्षी बनाइएको छ। नेपाल बैंकको सञ्चालक समिति अध्यक्षको पदमा रहेको बेला रमेश आचार्यसँगको मिलेमतोमा तामाङलाई उक्त बैंकबाट ऋण मिलाइदिन सहजीकरण गर्न घुसबापत पाँच लाख रुपैयाँ माग गरी लिन दिन मञ्जुर भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
तामाङसँग घुस लिइ, लिन लगाइसकेको उक्त रकम उल्लेखित चेक अख्तियारले अधिकारीको कोठाबाट बरामद गरेको थियो।
अख्तियारले भ्रस्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) अन्तर्गतको कसुरमा बिगो पाँच लाख रुपैयाँ कायम गरी कैद र जरिवाना सजाय माग गर्दै सोमबार मुद्दा दर्ता गराएको हो।
