पुष्पकमल दाहालले पछिल्लो निर्वाचनपछि विकसित राजनीतिक घटनाक्रमले नेपालका कम्युनिस्ट शक्तिहरूलाई एकताको दिशामा जान बाध्य बनाएको बताएका छन्। उनले कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने योजनाबद्ध प्रयास भइरहेको दाबी गर्दै त्यसविरुद्ध सबै वामपन्थी शक्ति सचेत हुनुपर्ने चेतावनी दिएका छन्।
निर्मल लामा स्मृति दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्ट पार्टीहरूबीच विचार, राजनीति र संगठनात्मक एकता अपरिहार्य बन्दै गएको बताए। “अब विगतका तिक्तता र विवाद बोकेर बस्ने समय छैन, एकता नगर्ने हो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ,” उनले भने।
प्रचण्डले दक्षिण एसियामै कम्युनिस्ट आन्दोलन समाप्त हुँदै गएको भ्रम फैलाइएको उल्लेख गर्दै नेपालका वाम शक्तिलाई ‘जिरो’ मा पुर्याउने षड्यन्त्र भइरहेको आरोप लगाए। उनले राष्ट्रिय स्वाधीनता कमजोर पार्ने र कम्युनिस्ट आन्दोलनलाई संकटमा धकेल्ने प्रयास तीव्र भएको दाबी गरे।
उनले स्थानीय तहदेखि नै वामपन्थी, देशभक्त र गणतन्त्र पक्षधर शक्तिहरूबीच संयुक्त मोर्चा निर्माणको आवश्यकता बढ्दै गएको बताए। आफू देशका विभिन्न ठाउँमा पुग्दा नेता–कार्यकर्ताले कम्युनिस्ट एकता र गणतन्त्र रक्षा अभियानको माग उठाइरहेको उनको भनाइ थियो।
प्रचण्डले वर्तमान बालेन नेतृत्वको सरकारमाथि पनि आक्रामक टिप्पणी गर्दै श्रमजीवी वर्ग, गरिब र निमुखा जनतामाथि सरकारले हमला गरिरहेको आरोप लगाए। उनले जनताको अधिकार र लोकतान्त्रिक उपलब्धि जोगाउन वाम शक्तिहरू अझ सशक्त रूपमा एकजुट हुनुपर्ने बताए।
