भारत तमिलनाडुका राज्यपाल राजेन्द्र अर्लेकरले टिवीके प्रमुख विजय थलपतिलाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन्।
उनको शपथ ग्रहण आज बिहान १० बजे चेन्नईस्थित नेहरु स्टेडियममा हुने तय भएको छ । उनले मे १३ भित्र विधान सभामा विश्वासको मत पेस गर्नुपर्नेछ।
तमिलनाडुमा सरकार गठनका लागि आवश्यकभन्दा बढी समर्थन पाएपछि टिवीके नेता विजय राज्यपाल राजेन्द्र अर्लेकरलाई भेट्न लोक भवन पुगेका थिए।
यसअघि शनिबार साँझ तमिलनाडुमा काँग्रेस, सीपीआई र सीपीएमपछि भीसीके र इन्डियन युनियन मुस्लिम लिग (आइयूएमएल)ले पनि टिवीकेलाई समर्थन गर्ने घोषणा गरेका थिए।
राज्यपालसँगको भेटपछि टिवीके नेता विजयले व्यक्तिगत रूपमा भारतीय कम्युनिस्ट पार्टी र भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का कार्यालयहरूको भ्रमण गरेका थिए र पार्टी नेताहरूसँग भेटवार्ता गरेका थिए।
कुल २ सय ३४ सिट रहेको तमिलनाडु विधानसभा निर्वाचनमा टिवीकेले १ सय ८ सिट जितेको छ। दुई सिटबाट विजयी भएका विजयले एउटाबाट राजीनामा दिनुपर्ने भएकाले टिवीकेको संख्या १ सय ७ मा झर्नेछ।
त्यसपछि सदनको संख्या २ सय ३३ मा झर्ने भएकाले बहुमतका लागि १ सय १७ सदस्यको समर्थन आवश्यक पर्नेछ।
