भद्रपुर (झापा) । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका-२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली च्याउको परिकार बनाएर खाँदा बिरामी परेका हुन् ।
जङ्गलीबाट ल्याइएको च्याउ पकाएर खाएपछि परिवार सबै सदस्यमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार ५० वर्षीया कमलामाया खवास, ३१ वर्षीय डिल्ली खवास, २० वर्षीया अनिता खवाससहित आठ जना बालबालिका बिरामी परेका हुन् ।
बिरामीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकामा प्रारम्भिक उपचारपछि नौ जनालाई दमकस्थित बाल अस्पतालमा थप उपचारका लागि पठाइएको खड्काले जानकारी दिए । उनका अनुसार बिरामीमध्ये दुई जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य छ ।
यसैबीच, प्रहरीले जङ्गली च्याउ सेवन गर्दा विषाक्त हुने र स्वास्थ्य समस्याको जोखिम रहने भएकाले पहिचान नभएका च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेको छ ।
