नेपाली कांग्रेसले कर्णाली प्रदेशमा आयोजना गर्न लागेको प्रदेश स्तरीय भेलाको तयारी पूरा भएको जनाएको छ ।
भेलालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति गगनकुमार थापा कर्णाली पुग्ने कार्यक्रम रहेको छ ।
शनिबार सुदूरपश्चिमको धनगढीबाट शुरू गरेको प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला सोमबार र मंगलबार सुर्खेतमा आयोजना गर्न लागेको हो ।
नेपाली कांग्रेसबाट विजयी जनप्रतिनिधिहरू भेलामा सहभागी हुने नेपाली कांग्रेसले जनाएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण प्रसाद भट्टराईले भेलाको तयारी तीब्र रुपमा भई रहेको जानकारी दिए ।
कार्यक्रममा केन्द्रीय सभापति थापासहित उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेललगायत केन्द्रीय पदाधिकारीले सम्बोधन गर्ने कार्यक्रम रहेको भट्टराईले बताए ।
‘नेपाली कांग्रेसबाट विजयी सबै तहका जनप्रतिनिधि, पार्टीका सबै तहका सभापति, प्रदेशका पदाधिकारी र सदस्यहरू, कर्णालीका केन्द्रीय सदस्यहरू भेलामा सहभागी हुनुहुनेछ’, उनले भने, ‘भेलाको व्यापक तयारी भइरहेको छ ।
नेपाली कांग्रेस कर्णालीका केन्द्रीय सदस्यहरू, प्रदेशका सभापति र पदाधिकारीहरु, प्रदेश संसदीय दलका नेता र सुर्खेत जिल्लाका पदाधिकारीसहितको बैठकले भेलाको व्यवस्थापकीय तयारी गरेको उनले बताए ।
विशेष महाधिवेशन पछि प्रतिनिधिसभाको चुनावी आमसभा भन्दा पछि सभापति थापालगायतका पदाधिकारी पहिलो पटक कर्णाली आउन लागेका हुन् । भेलाले प्रतिनिधि सभा निर्वाचनको समीक्षा र भावी रणनीतिहरूका लागि व्यापक छलफल गर्ने जनाएको छ ।
२८ गते उद्घाटन समारोह गर्ने, त्यसमा नेताहरूले सम्बोधन गर्ने र २९ गते विभिन्न छ ओटा विषयगत समूहमा छलफल गर्ने तयारी कांग्रेसले गरेको जनाएको छ ।
प्रदेश स्तरीय प्रशिक्षण भेलामा २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा गरिने र स्थानीय तहका जनप्रतिनिधिको कार्यसम्पादनबारे पनि छलफल हुने केन्द्रीय सदस्य भट्टराईले जानकारी दिए ।
विशेष महाधिवेशनपछि कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृह जिल्लामै हुन लागेको समीक्षा भेलालाई चासोका साथ हेरिएको छ ।
