संवैधानिक परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले साँझ ५ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने तय भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकको मुख्य कार्यसूची सर्वोच्च अदालतका लागि प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने रहेको छ । हाल प्रधानन्यायाधीश पद रिक्त रहेकाले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले जिम्मेवारी सम्हाल्दै आएकी छन् ।
संवैधानिक परिषद् सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार बैठक २०८३ वैशाख २४ गते बिहीबार अपराह्न ५ बजे बस्नेछ ।
बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधिसभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे तथा उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि परिषद् अध्यक्षको हैसियतमा प्रधानमन्त्रीले बैठक आह्वान गरेका हुन् ।
नयाँ अध्यादेशअनुसार अब संवैधानिक परिषद्को बैठकका लागि चार सदस्यको गणपूरक संख्या कायम गरिएको छ । साथै, गणपूरक संख्याको बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था पनि गरिएको छ ।
