प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारणसभा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष सम्झना अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो ।
सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै सोही आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
पारित लाभांशमध्ये ४ प्रतिशत शेयर लाभांश र ४.४२१ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ ।
सभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिकसमेत निर्धारण गरेको छ ।
कम्पनीले लाभांश वितरण प्रयोजनका लागि पुस २१ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस २० गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्नेछन् ।
