बीपी राजमार्गमा आजदेखि मंगलबारसम्म राति सवारीसाधन चलाउन रोक

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा चल्ने सबै प्रकारका सवारीसाधन आवागमनमा रोक लगाएको छ ।

मंगलबार (वैशाख २२) देखि अर्को सूचना नहुन्जेलसम्मका लागि बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म खुर्कोटमा पूर्ण रूपमा रोक लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत प्रविण कटुवालले जारी गरेको सूचनामा भनिएको छ, “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनबमोजिम बीपी राजमार्गको सिन्धुली र काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा रोशी खोलामा बाढी आई बाटो अवरुद्ध हुने गरेको अवस्थालाई मध्यनजर गरी आज वैशाख २२ गते सिन्धुली र काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच भएको टेलिफोन संवाद समेतको आधारमा जिल्ला सुरक्षा समिति सिन्धुलीको मिति २०८३/०१/२२ को बैठकबाट पूर्ण रूपमा रोक लगाउने निर्णय गरिएको छ ।”

सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आग्रह गरेको छ ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.