डर र त्रासमा नपर्न उद्योगी व्यवसायीलाई रविको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको उद्देश्य निजी क्षेत्रलाई हतोत्साही बनाउने नभई नीति सुधार गर्ने रहेको बताएका छन् ।

आइतबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको भेटमा उनले सरकारको उद्देश्य निजी क्षेत्रलाई हतोत्साही बनाउने नभई नीति सुधार गर्ने रहेको भन्दै उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका हुन् ।

सरकारको सुशासन अभियानमा साथ दिन उद्योगी व्यवसायीहरूलाई आग्रह गर्दै उनले सरकार उद्योगी व्यवसायीहरूसँग सहकार्य गरेर नै अगाडि बढ्न चाहेकाे बताए । तर अर्थतन्त्रलाई कमजोर बनाउने गतिविधिहरूमा राज्यले कडाइका साथ निगरानी राख्ने उनको भनाइ छ ।

विगतमा राजनीतिक अस्थिरता र परिवेशका कारण व्यवसायीहरू विभिन्न शक्तिकेन्द्रको दबाबमा परेका घटनाहरूलाई सरकारले राम्रोसँग बुझेको उनले बताए । उनले अब अवस्था नदोहोरिनेमा ढुक्क हुन आग्रह गरे । सरकारले उद्योगी व्यवसायीलाई नीतिले नै सुरक्षा दिने उनको भनाइ छ ।

उनले भने, ‘तपाईंहरूको मनोबल अलिकति के भएको हो ? कस्तो भएको हो, अलिकति डर त्रास देखिएको भन्ने सुनेको कारणले तपाईंहरूसँग बसेर छलफल गर्न खोजेको हो । तपाईंहरू अलिकति पनि चिन्ता मान्न पर्दैन । यो सुशासनको एजेन्डालाई अलिकति द्रुत गतिमा अगाडि बढाउनका लागि केही प्रश्नहरू तपाईंसम्म आइपुगेछ भने त्यसलाई यहाँहरूले सहज रूपमा लिइदिनुहोला । तर हामी मिलेर नै काम गर्ने हो । सरकारको कुनै व्यवसायीलाई हतोत्साही बनाएर, उसको व्यवसायलाई धराशायी बनाएर जाने कुनै पनि उद्देश्य छैन ।’

उनले वर्तमान सरकार चुनावमा आफूहरूले गरेको वाचापत्रको आधारमा नै सञ्चालन हुने बताए । जनताले वाचापत्र हेरेर नै भोट दिएको उल्लेख गर्दै उनले वाचापत्र भन्दा दायाँबायाँ नजाने दाबी गरे । उनले उद्योगी व्यवसायीलाई आफ्ना कमीकमजोरीलाई पनि मूल्याङ्कन गर्न आग्रह गरे ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.