प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आज बुधबार दिउसो १२ बजे विपक्षी दलहरुको बैठक बोलाएको छ । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेसँगै यो बैठक बोलाइएको हो । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाएका हुन् ।
बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेतालाई बोलाइएको छ । बैठकमा संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने सरकारको कदम र प्रमुख विपक्षीसँगै अन्य विपक्षी दलहरूको प्रतिवाद रणनीतिलगायत एजेण्डामा छलफल हुनेछ ।
मंगलबार प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा अध्यादेश पुगेपछि मात्रै सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएको सार्वजनिक भएको थियो । लगत्तै प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने कदमलाई अलोकतान्त्रिक, बलमिच्याइँको राजनीति र सार्वभौम संसद्को अपमान भएको प्रतिक्रिया दिएका छन् ।
सरकारले दुई अध्यादेश ल्याएपछि नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले कडा शब्दमा विरोध जनाएका छन् । सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको खुलेको थियो ।
