मूल्यवृद्धिविरुद्ध निर्माण व्यवसायीहरू आन्दोलनमा

नेपाल निर्माण व्यवसायी महासंघ इन्धन, निर्माण सामग्री, ढुवानी तथा श्रमिक लागतमा भएको अत्यधिक मूल्यवृद्धिको विरोधमा आन्दोलनमा उत्रिएको छ।

महासंघले मध्यपूर्वमा जारी युद्धका कारण निर्माण क्षेत्रमा अप्रत्याशित रूपमा लागत बढेको भन्दै सरकारले समस्या समाधानतर्फ ध्यान नदिएको आरोप लगाएको छ।

मूल्यवृद्धिका कारण निर्माण कार्य नै प्रभावित हुने अवस्था सिर्जना भएको महासंघको भनाइ छ।

आन्दोलनका कार्यक्रमअन्तर्गत महासंघले बिहीबार सडक विभाग तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकलाई ज्ञापनपत्र बुझाउनुका साथै सम्बन्धित विभागमा धर्ना दिने जनाएको छ।

महासंघका महासचिव शिवहरि घिमिरेका अनुसार शुक्रबार र आगामी सोमबार शहरी विकास तथा भवन निर्माण विभाग र खानेपानी तथा ढल व्यवस्थापन विभागमा पनि ज्ञापनपत्र बुझाइ आधा घण्टा धर्ना दिइनेछ।

त्यसैगरी महासंघअन्तर्गतका ७७ वटै जिल्ला निर्माण व्यवसायी संघले जिल्ला प्रशासन कार्यालयमार्फत प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने तथा आधा घण्टा धर्ना दिने कार्यक्रम तय गरिएको छ।

जिल्लास्तरमा पूर्वाधार विकास कार्यालय, डिभिजन सडक कार्यालय, शहरी विकास तथा भवन तथा सिँचाइ कार्यालयहरूमा पनि विरोध कार्यक्रम सञ्चालन गरिने महासंघले जनाएको छ।

महासंघका नीतिगत उपमहासचिव तथा प्रवक्ता मंगलबहादुर शाहीका अनुसार सातै प्रदेशका निर्माण व्यवसायी महासंघले शुक्रबार मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउँदै आधा घण्टा धर्ना दिने कार्यक्रमसमेत तय गरेका छन्।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.