विपक्षी दलहरूले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री वालेन्द्र साह (बालेन) को अनिवार्य उपस्थितिको माग गर्दै सदन अवरुद्ध गरेपछि प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ।
बुधबारको बैठकमा विपक्षीको निरन्तरको अवरोध र नाराबाजीपछि सभामुख डोलप्रसाद अर्यालले कार्यसूचीमा रहेका केही कार्यक्रमहरू हटाउँदै नयाँ कार्यतालिका सार्वजनिक गरेका छन्। सभामुखले बुधबारको कार्यसूचीमा रहेका क्रम सङ्ख्या २ देखि ५ सम्मका सम्पूर्ण कार्यक्रमहरू हटाएको जानकारी गराए।
विपक्षीको मागलाई मध्यनजर गर्दै सभामुखले राष्ट्रपतिद्वारा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरू प्रस्तुत गर्ने, उक्त प्रस्तावमाथि छलफल गर्ने र प्रधानमन्त्रीले जवाफ दिने गरी आगामी वैशाख ३१ गतेको समय निर्धारण गरेका छन्।
सभामुख अर्यालका अनुसार प्रतिनिधि सभा नियमावली २०७९ को नियम ३८ को उपनियम (१) बमोजिम बिहीबारका लागि सो कार्यतालिका तय गरिएको हो।
दिनभरको तनाव र पटक-पटकको स्थगनपछि प्रतिनिधिसभाको अर्को बैठक भोलि वैशाख ३१ गते बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ। विपक्षी दलहरूले भोलिको बैठकमा प्रधानमन्त्रीको भौतिक उपस्थिति नभए पुनः अवरोध गर्ने संकेत गरेका छन्।
