नेपाल ए ले स्कटल्याण्डमाथि ९ रनको जित हासिल गरेको छ । माथिल्लो मुलपानी मैदानमा शनिबार सम्पन्न वर्षाले प्रभावित खेलमा नेपाल ए डिएलएस मेथड अनुसार ९ रनले विजयी भएको हो ।
यो अभ्यास सिरिजमा नेपाल एको लगातार तेस्रो जित हो भने स्कटल्याण्डविरूद्ध दोस्रो जित हो । स्कटल्याण्डले दिएको ३०३ रनको लक्ष्य पछाएको नेपाल ए ले ३४.५ ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनाउदा खेल वर्षाले अवरुद्ध भएको थियो । त्यसपछि खेल पुन: सुचारु हुन सकेन र खेलको निर्णय डिएलएस मेथडबाट गरिएको थियो ।
नेपाल ए का लागि सन्दीप जोरा अविजित ८३ रन बनाए भने इशान पाण्डेले ५०, तृतराज दासले २४ रन, बसिर अहमदले २० रन र मयान यादवले १२ रन बनाएका थिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै जर्ज मुन्सीको ६२, माइकल इङ्लिस अविजित ५६ रन र रिची बेरिङ्टनले ४० रनको सहयोगमा ३०२ रन बनाएको थियो । त्यस्तै नेपाल ए का बलर आकाश चन्दले ३ विकेट लिएका थिए । अब यो अभ्यास सिरिज अन्तर्गत नेपाल ए ले सोमबार अमेरिकासँग खेल्ने तालिका रहेको छ ।
