गौरादह नगरपालिका–५ स्थित स्कुलचन बजारमा शुक्रबार बिहान यात्रुबाहक बस र टिफर एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।
बिहान करिब ११ बजे दमकतर्फबाट चप्रामारी जाँदै गरेको मे.१ ख २४९९ नम्बरको बस र मधुमल्लाबाट दामुनातर्फ आउँदै गरेको प्र.न.२-०३-००१ ख ७१५३ नम्बरको टिफर भित्री सडक खण्डमा एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बस चालक कृष्ण प्रसाद राजवंशी सहित यात्रुहरू योगमाया निरौला, कल्पना प्रसाद उराउ, शारदा देवी पौडेल, सलिना खत्री, उनकी ६ वर्षीया छोरी संरचना खत्री, सरोज राम, कल्पना सिक्देल, सृजना पराजुली र किस्मत खड्का घाइते भएका छन् ।
घाइतेमध्ये योगमाया निरौलाको अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि निम्स अस्पताल पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको भने नगर अस्पताल गौरादह मा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य छ । दुर्घटनापछि नेपाल प्रहरी अन्तर्गतको प्रहरी चौकी महारानीझोडा ले टिफर चालकसहित दुवै सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
