प्रधान न्यायाधीश सिफारिस प्रक्रिया संविधानसम्मत नभएको जिकिरसहित सर्वोच्च अदालतमा पेस भएका तीन वटा रिट निवेदन दरपीठ (दर्ता गर्न अस्वीकार) भएका छन् । सर्वोच्च अदालत प्रशासनले तीन वटै रिट दरपीठ गरेको हो ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बिहीबार बसेको संवैधानिक परिषदले डा. मनोजकुमार शर्मालाई प्रधान न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । सिफारिस अनुसार शुक्रबार नै संसदीय सुनुवाइको प्रक्रियासमेत अघि बढिसकेको छ ।
परिषद्को सिफारिस संविधानको मर्मविपरीत भएको र वरिष्ठता क्रमसमेत मिचिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताद्वय डा. प्रेमराज सिलवाल र गीता थापाले रिट पेस गर्नुभएको थियो ।
तीन वटै रिट दरपीठ भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताउनुभयो । प्रशासनको दरपीठको आदेशउपर निवेदकले इजलासमा निवेदन दिन पाउने छन् । इजलासले दरपीठको आदेश बदर गरेमा रिट दर्ता भई सुनुवाइको प्रक्रियामा जाने छ । दरपीठ सदर भएमा सिफारिस प्रक्रियाविरुद्ध न्यायिक परीक्षण हुने छैन ।
