विद्यार्थी युनियन खारेज गर्ने सरकारको तयारीविरुद्ध विभिन्न विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा विरोध प्रदर्शनसहित मार्च पास गरेका छन् । सरकारको शासकीय सुधारका काममा विद्यार्थी संगठन खारेज गर्ने बुँदा पनि समावेश भएपछि आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले मंगलबार विरोध प्रदर्शनसहित मार्च पास गरेका हुन् ।
विश्वविद्यालयमा रहेका स्ववियु तथा विद्यार्थी संगठनहरूको अस्तित्व समाप्त पार्ने गरी चालिएको कदम स्वीकार्य नहुने उनीहरूले जनाएका छन् । उनीहरूले विद्यालय शिक्षा विधेयक खोइ, विश्वविद्यालयमा प्रहरी होइन, प्राध्यापक पठाउ, स्ववियु खारेज गर्न पाइँदैन, विश्वविद्यालयको स्वायतता सुनिश्चितता गर लगायतका प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी गरेका थिए । त्यस्तै विद्यार्थीहरूले बढ्दो महङ्गी नियन्त्रण गर्नुपर्ने, शैक्षिक संस्थाहरूलाई व्यारेकीकरण गर्ने अभ्यास बन्द गर्नुपर्ने, मेरिटोक्रेसी लागू गर्नुपर्ने र विद्यार्थीलाई यातायातमा दिइँदै आएको ४५ प्रतिशत भाडा छुट कायम गर्न समेत माग गरेका छन् ।
अखिल(क्रान्तिकारी)का उपाध्यक्ष मदन ढकालले विद्यार्थी युनियन खारेजलगायतका माग राख्दै आफूहरू निरन्तर आन्दोलनमा रहेको भन्दै सरकारले माग नसुने कडा आन्दोलनको घोषणा गरेर अघि बढ्ने चेतावनी दिए।
उनले विद्यार्थी युनियन खारेज गर्ने सरकारको तयारीविरुद्ध आगामी दिनमा स्ववियुको माध्यमबाट सबै क्याम्पसमा विरोधका कार्यक्रमको आयोजना गरिने बताए । ढकालले मुलुकको हरेक परिवर्तनमा अग्रणी भूमिका रहेका विद्यार्थी संगठनलाई खारेज गर्ने निर्णयले सरकारलाई नै समस्यामा पार्न सक्ने समेत उल्लेख गरे।
