नेपालद्वारा रुवान्डालाई १०४ रनको लक्ष्य प्रस्तुत

सन् २०२६ को आइसिसी महिला टि२० च्यालेन्ज ट्रफी अन्तर्गत आज भएको खेलमा नेपालले रुवान्डा सामु जितका लागि १०४ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपाली टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०३ रन बनायो। नेपालको सुरुवात भने निकै कमजोर रह्यो। ओपनरद्वय सम्झना खड्का ६ रन र बिन्दु रावल २ रनमा आउट भएपछि दबाबमा परेको नेपालले ५ ओभरभित्रै २३ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो।

मध्यक्रममा कप्तान इन्दु बर्माले टोलीको इनिङ्स सम्हाल्दै सर्वाधिक ३३ रन (नटआउट) जोडिन्। उनले ४५ बलको सामना गर्दै ४ चौका प्रहार गरिन्। उनलाई कविता कुँवरले राम्रो साथ दिँदै २६ बलमा २४ रनको योगदान दिइन्। रुबिना क्षेत्रीले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

रुवान्डाका लागि हेन्रिएट इसिम्वे सबैभन्दा सफल बलर रहिन्, उनले ४ ओभरमा २० रन खर्चेर ३ महत्वपूर्ण विकेट लिइन्। त्यस्तै, मेरी डियान बिमेनिमनाले २ विकेट झारिन् भने बेलिसे मुरेकातेते र रोजिन उवेराको नाममा १-१ विकेट रह्यो।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.