नेकपा एमालेका सचिव महेश बस्नेतले आफ्नी श्रीमती अम्बिका बस्नेतलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति आपत्ति जनाएका छन् ।
सोमबार माइतीघर मण्डलामा भएको झडपपछि प्रहरीले अम्बिका बस्नेत सहित आठ जनालाई नियन्त्रणमा लिएको हो ।
माइतीघर मण्डलामा आन्दोलनरत शोभा पाठकमाथि हातपात भएको आरोपमा अम्बिका बस्नेतसहित केही व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको हो । झडपमा घाइते भएकी पाठकलाई उपचारका लागि वीर अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार घटनामा संलग्न रहेको आरोपमा सात जनालाई नियन्त्रणमा लिई भद्रकाली प्रहरी परिसरमा राखिएको छ ।
घटनापछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै एमाले सचिव बस्नेतले आफ्नी श्रीमतीमाथि हातपात भएको र उल्टै पक्राउ गरिएको आरोप लगाएका छन् ।
उनले साइबर अपराधविरुद्ध उजुरी दिन साइबर ब्युरो जाने क्रममा माइतीघर क्षेत्रमा भएको भिडभाड हेर्दै गर्दा केही व्यक्तिहरूले गालीगलौज तथा हातपात गरेको, तर उल्टै आफ्नी श्रीमतीसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको बताएका छन् ।
बस्नेतले केही सञ्चार माध्यमले घटनालाई ‘भ्रामक ढङ्गले’ प्रस्तुत गरेको भन्दै असन्तुष्टि जनाएका छन् । साथै माइतीघर मण्डलालाई ‘चरित्र हत्या गर्ने थलो’ बनाइएको आरोप पनि उनले लगाएका छन् ।
शोभा पाठक लामो समयदेखि महेश बस्नेतले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै कारबाहीको माग गर्दै आएकी छन् । पछिल्लो समय उनी पूर्व गृहमन्त्री सुधन गुरुङको पुनर्बहालीको माग गर्दै माइतीघरमा धर्नामा बसेकी थिइन् । सोही धर्नाका क्रममा झडप भएको प्रहरीको भनाइ छ ।
बस्नेतले घटनामा निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् । अन्यथा सशक्त प्रतिरोध गर्ने चेतावनी उनले दिएका छन् ।
