राष्ट्रपति रामचन्द्र पौडेल आज तनहुँ जाँदै

राष्ट्रपति रामचन्द्र पौडेल आज (सोमबार) आफ्नो गृह जिल्ला तनहुँ आउनुहुने भएको छ । नेपाली सािहत्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित निर्माण गर्न लागिएको ‘भानु साहित्य उद्यान’ को शिलान्यासका लागि राष्ट्रपति पौडेल यहाँ आउन लाग्नुभएको हो ।

भानु नगरपालिकाका सूचना अधिकारी कृपाहरी लौडारीका अनुसार राष्ट्रपति पौडेलले आज बिहान १० बजे भानु नगरपालिका–४, चुँदी रम्घामा एक विशेष समारोहका बिच उद्यानको जग बसाल्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति पौडेलकै विशेष परिकल्पना र पहलमा यो आयोजनाले मूर्त रूप लिन लागेको हो ।

राष्ट्रिय गौरवको आयोजना यसअघि घोषणा भएर पनि विविध प्राविधिक कारणले अगाडि बढ्न नसकेको यो बहुप्रतीक्षित आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले सरकारले विनियोजन गरेको २० करोड रुपियाँ बजेटबाट पहिलो चरणको निर्माण कार्य सुरु हुन लागेको जानकारी दिनुभयो ।

गुरुयोजना अनुसार उद्यानभित्र पहिलो चरणमा आधुनिक ‘भानु भवन’ निर्माण हुनेछ । क्रमशः यहाँ सातै प्रदेशका प्रमुख धार्मिक एवं सांस्कृतिक सम्पदाका नमूना र नेपाली साहित्यका मूर्धन्य व्यक्तित्वहरूको सालिक स्थापना गरिनेछ ।

सांस्कृतिक तीर्थस्थलको रूपमा विकास भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामेले यो उद्यान केवल एक भौतिक संरचना मात्र नभई विश्वभर छरिएका नेपाली भाषीहरूका लागि एउटा सांस्कृतिक तीर्थस्थल हुने बताउनुभयो । “राष्ट्रपतिज्यूको हातबाट हुने यो शिलान्यासले रम्घाको मुहार फेर्ने ऐतिहासिक प्रस्थानविन्दु तय गर्नेछ । उपप्रमुख गोतामेले भन्नुभयो । ”

नेपाली भाषालाई एकीकरण गर्ने श्रेय पाउनुभएका आदिकवि भानुभक्त आचार्यको योगदानलाई जीवन्त राख्न र भावी पुस्ताका लागि अनुसन्धानको केन्द्र बनाउन यो उद्यान कोसेढुङ्गा सावित हुने विश्वास लिइएको छ । शिलान्यास समारोहलाई भव्य बनाउन स्थानीय प्रशासन, राजनीतिक दल र नागरिक समाजसँग आवश्यक समन्वय भइसकेको नगरपालिकाले जनाएको छ । राष्ट्रपतिको आगमनलाई लिएर यतिबेला तनहुँको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ भने स्थानीयबासीहरूमा उत्साह छाएको छ ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.