टक्सार पिखुवा खोलाले बैशाख २३ देखि आईपीओ खोल्दै

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आगामी बैशाख २३ गते मंगलबारदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ र अब सर्वसाधारण लगानीकर्तालाई लक्षित गर्दै शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १२ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दा र ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट भइसकेको छ। यसका साथै सामूहिक लगानी कोषहरुका लागि १ लाख ५१ हजार ५३३ कित्ता र कम्पनीका कर्मचारीहरुका लागि ६० हजार ६१३ कित्ता शेयर पनि बाँडफाँट गरिसकिएको छ।

सर्वसाधारणले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन छिटोमा बैशाख २३ गते नै बन्द हुनेछ भने माग बमोजिम नभएमा ढिलोमा जेठ ६ गतेसम्म खुला रहनेछ। आईपीओ निष्काशनको लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।

कम्पनीले भोजपुर जिल्लामा ८ मेगावाट क्षमताको टक्सार पिखुवा खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत १ अर्ब ८८ करोड २१ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २३ करोड ५३ लाख रुपैयाँ पर्न गएको छ। सो आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ४ महिना बाँकी रहेको छ। आयोजनाबाट साधारण लगानी ९.१७ वर्षमा र डिस्काउण्टमा १८.३७ वर्षमा फिर्ता हुने प्रक्षेपण गरिएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा प्रभु क्यापिटल लिमिटेडले लिएको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.