त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको ‘अन्डर लाइट्स टी–२० आई सिरिज’ अन्तर्गतको दोस्रो खेलमा यूएईलाई नेपालले ८ विकटले पराजित गरेको छ ।
मंगलबार त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १२९ रनको लक्ष्य नेपालले मात्र १५.५ ओभरमा केवल २ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा ओपनर कुशल मल्लले ५७ बलमा ८४ रनको योगदान दिए । यस क्रममा उनले १२ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै अर्का ओपनर कुशल मल्ले १७ बलमा १९ रन बनाए भने कप्तान दीपेन्द्र सिंह ऐरीले १७ बलमा २३ रन बनाए । आजै अन्तरार्ष्ट्रिय टी–२० डेब्यु गरेका सन्तोष यादव भने ४ बलमा १ रन बनाएर आउट भए ।
आजको खेलमा नेपाली बलरहरूको उत्कृष्ट प्रदर्शनका कारण यूएई निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रनमा समेटिन पुगेको थियो ।
टस जितेर पहिले बलिङ गर्ने नेपालको निर्णय आज तुलनात्मक रूपमा फलदायी भयो । नेपाली बलरहरूले घातक बलिङ गर्दै यूएईको ब्याटिङ लाइन ध्वस्त पारे । नेपालका लागि हेमन्त धामीले इनिङको पहिलो बलमै यूएईका मोहम्मद वासिमलाई गोल्डेन डकको सिकार बनाएका थिए । यसपछि अन्य ब्याटरहरू पनि लगातार आउट हुँदै गए ।
यूएईका लागि अक्षदीप नाथले अर्धशतक पूरा गर्दै इनिङ सम्हाल्ने प्रयास गरे । त्यस्तै, मुहम्मद अफरानले ३६ बलमा ३२ रनको योगदान दिए । अदीप उस्मानीले सन्दीप लामिछानेको बलिङमा एलबीडब्ल्यू धरापमा पर्नुअघि २२ बलमा ३२ रन जोडेर केही आशा जगाएका थिए ।
यता, नन्दन यादवको बलिङमा अलिसन सफरु मात्र एक रनमा लोकस बमबाट क्याच आउट भए । हेमन्त धामीले हरप्रित सिंहलाई एलबीडब्ल्युमार्फत आउट गराएका थिए । सोहेब खान, निलान्स केसवानी र खुजाइमी तन्वीरले भने रनको खाता नै खोल्न सकेनन् ।
नेपालका लागि सन्दीप लामिछाने आज पनि उत्कृष्ट बलर साबित भए । पूरा चार ओभर बलिङ गरेका उनले एक मेडन राख्दै मात्र ६ रन खर्चेर यूएईको महत्वपूर्ण तीन विकेट लिएका थिए ।
यस्तै, हेमन्त धामीले पनि पूरा ४ ओभर बलिङ गर्दै २० रन खर्चेर २ विकेट लिए । साहब आलमले ३ ओभरमा २९ रन दिएर एक विकेट हात पारे भने गुलशन झाले मात्र एक ओभर बलिङ गर्दै एक रन मात्र दिएका थिए ।
कप्तान दीपेन्द्र सिंह ऐरीले तीन ओभरमा १६ रन दिएर विकेट लिन सकेनन् । आज अन्तर्राष्ट्रिय डेब्यु गरेका सन्तोष यादव भने महँगा साबित देखिए, उनले एक ओभरमा ११ रन खर्चिएका थिए ।
हिजो सम्पन्न पहिलो भेटमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको थियो । सो हारको बदला लिने लक्ष्यका साथ आज नेपाल मैदानमा उत्रिएको थियो । आजको खेलका लागि नेपाली टोलीमा चार खेलाडी परिवर्तन गरिएको थियो । शेर मल्लको स्थानमा सन्तोष यादवलाई टोलीमा समावेश गरिएको छ, सन्तोष यादवको यो अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु खेलसमेत हो ।
