गृहमन्त्री सुधन गुरुङलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा उजुरी

जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा उजुरी दिएको छ।

मुभमेन्टका प्रवक्ता विजय शाहले मंगलबार प्रहरी प्रधान कार्यालयमा गृहमन्त्रीविरुद्ध लिखित उजुरी दिएका हुन्। प्रहरी महानिरीक्षकलाई सम्बोधन गरेर दिइएको निवेदनमा गृहमन्त्री गुरुङलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन अनुरोध गरिएको छ।

गुरुङमाथि निष्पक्ष अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरिएको छ। प्रवक्ता शाहले नेपाल प्रहरी ऐनअनुसारै निवेदन दिएको दाबी गरेका छन्। उनले भनेका छन्, “यो निवेदन नेपाल प्रहरी ऐन, २०१८ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम दर्ता गरी तत्काल कारबाही अघि बढाइयोस् भन्ने हाम्रो विनम्र अनुरोध छ।”

मुभमेन्टले आफ्नैविरुद्धको अनुसन्धान प्रक्रियामा पदमा बहाल रहनु स्वार्थको द्वन्द्व र प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुने भन्दै गृहमन्त्री पदमै रहँदा प्रमाण नष्ट हुन सक्ने र न्याय सम्पादनमा अवरोध पुग्न सक्ने खतरा रहेको जनाएको छ।

पानी वितरणका नाममा स्वयंसेवक बनेर समग्र जेनजी आन्दोलनलाई हाइज्याक गरेको, आन्दोलनलाई हिंसात्मक बनाएको र राज्यविहीनताको अवस्था सिर्जना गर्न खोजेको आरोप उनीमाथि लगाइएको छ।

यस्तै आन्दोलनको दुरुपयोग गरी धनआर्जन गरेको, बिचौलिया र दलालहरूसँग साठगाँठ गरेको तथा ७६ जना सहिदको बलिदान र घाइतेहरूको अपमान गरेको दाबी पनि जेनजी मुभमेन्टको छ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.