दूरसञ्चार सेवाप्रदायक स्मार्ट टेलिकमसँग सम्बन्धित ठगी तथा आपराधिक विश्वासघात मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डेलाई पक्राउ गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त गरी सेवा सञ्चालन गर्दै आएको सो प्रालिले नियम अनुसार अनुमति नवीकरण नगरेपछि कम्पनीको अनुमतिपत्र स्वतः खारेज भएको थियो । त्यसपछि दूरसञ्चार सेवाप्रदायकको सम्पत्ति, पूर्वाधार, संरचना तथा प्रणाली नेपाल सरकारको स्वामित्वमा आउने कानुनी व्यवस्था रहे पनि सो सम्पत्तिमाथि गैरकानुनी चलखेल भएको खुलेको छ । सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार उक्त प्रकरणमा सरकारी सम्पत्तिमा हानि पु¥याउने तथा नेपाल सरकारको हक अधिकार कमजोर पार्ने उद्देश्यसहित कार्य भएको भन्दै मुलुकी अपराधसंहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघात कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
ललितपुर–५ निवासी ६३ वर्षीय पाण्डेलाई सिन्धुलीको कमलामाई नगरपालिका क्षेत्रमा सवारी जाँचका क्रममा पक्राउ गरिएको हो । पक्राउपछि पाण्डेलाई काठमाडौँ ल्याई थप अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ ।
स्मार्ट सेल घोटाला प्रकरण
स्मार्ट टेलिकमले आधारभूत टेलिफोन सेवा सञ्चालनका लागि २०७० वैशाख २ गते अनुमतिपत्र प्राप्त गरेको थियो । कम्पनीले सेवा विस्तारका क्रममा विभिन्न उपकरण, टावर र नेटवर्क पूर्वाधार निर्माण गरेको थियो ।
कम्पनीले नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेडसहित विभिन्न बैङ्कबाट ऋण लिएको पाइएको छ । एनआइएमबीसँग २०७६ पुस २९ गते भएको सम्झौता अनुसार बैङ्कले कुल पाँच अर्ब २० करोड २२ लाख १० हजार रुपियाँ ऋण लिएको खुलेको छ ।
ऋण लिने क्रममा स्मार्ट टेलिकमले आफ्ना नेटवर्क उपकरण, मेसिनरी तथा अन्य पूर्वाधार धितो राखेको पाइएको र कम्पनी आर्थिक रूपमा कमजोर बन्दै गएपछि ऋण तिर्न नसक्दा अनुमतिपत्र नवीकरण नगरेको पाइएको छ ।
दूरसञ्चार ऐन, २०५३ अनुसार २०८० वैशाख २ पछि कम्पनीको लाइसेन्स स्वतः खारेज भएपछि नेपाल दूरसञ्चार प्राधिकरणको नाममा आएको उक्त कम्पनी नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कमार्फत लिलाम गरी निजी कम्पनीलाई बिक्रीवितरण गरेको पाइएको छ । स्मार्ट टेलिकमले राज्यलाई करिब सात अर्ब रुपियाँ राजस्व तिर्न बाँकी रहेको अवस्थामा लिलामी प्रक्रिया अघि बढाई एनसेल कम्पनीलाई चार अर्ब ६० करोड रुपियाँमा बिक्री गरेको पाइएको छ ।
