प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ नदिने भएका छन्।
उनको अनुपस्थितिपछि आजको प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने गरी संसद् सचिवालयले कार्यसूची तय गरेको छ।
हिजो संसद् सचिवालयले प्रधानमन्त्री बालेनले नै सांसदका प्रश्नहरूको जवाफ दिने कार्यसूची सार्वजनिक गरेको थियो। तर उनी संसद् बैठकमा अनुपस्थित भएपछि विपक्षी दलहरूले कडा विरोध जनाएका थिए।
दिनभर सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै रहेका प्रधानमन्त्री बालेन नजिकैको संसद् बैठकमा भने उपस्थित भएनन्। आज पनि उनी संसद् बैठकमा सहभागी हुने–नहुने निश्चित भएको छैन।
सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूलाई मनाउने प्रयास गरे पनि प्रधानमन्त्रीको अनिवार्य उपस्थितिको माग गर्दै विपक्षीहरूले अडान कायम राखेपछि हिजोको बैठक स्थगित भएको थियो।
प्रतिनिधिसभाको आजको बैठक बिहान ११ बजे बस्ने कार्यसूची छ।
कार्यसूचीअनुसार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्रीले दिने उल्लेख छ।
प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपतिले २०८३ वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८३/८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन्।
