आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग रोमाञ्चक खेलमा दुई रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा वर्षा प्रभावित खेलमा डकवर्थ–लुइस (डीएलएस) पद्धतिका आधारमा नेपाल पराजित भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनाएको थियो । स्कटल्यान्डका जर्ज मुन्सीले ७५ रनको आक्रामक इनिङ खेले भने फिन्ले म्याकक्रेथले ३५ तथा माइकल इङ्ग्लिसले अविजित ३४ रन जोडे ।
नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ४१ रन खर्चेर ४ विकेट लिए । करण केसी र नन्दन यादवले समान २–२ विकेट हात पारे ।
जवाफी ब्याटिङमा रहेको नेपालले वर्षा अवरोधका कारण डीएलएस अनुसार ३९ ओभरमा २२१ रनको संशोधित लक्ष्य पाएको थियो । नेपालले ३९ ओभरमा ७ विकेट गुमाउँदै २१८ रन मात्र बनाउन सक्यो ।
