नेपाली कांग्रेसले जीवनबहादुर शाहीलाई कर्णाली प्रदेशको मुख्यमन्त्री बनाउने तयारी गरेको छ।
कर्णालीमा अहिले नेकपा (एमाले)का यामलाल कँडेल मुख्यमन्त्री छन्। उनी कांग्रेसको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।
दुई दलबीच भएको सहमतिअनुसार, अब नेतृत्व पाउनुपर्ने कांग्रेसको माग छ। त्यसैअनुसार, शाहीलाई मुख्यमन्त्री बनाउने तयारी गरेको जनाइएको छ।
सुर्खेतमा आयोजित कांग्रेसको दुई दिने प्रदेश स्तरीय भेलामा पनि यसबारे छलफल भएको छ। भेला उद्घाटनमा बोल्दै कांग्रेस सभापति गगन थापाले कर्णालीमा कांग्रेसको मुख्यमन्त्री बन्ने समय आएको बताएका थिए।
त्यस्तै, भेला सकेर मंगलबार काठमाडौँ फर्किने बेला सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उपभासपति विश्वप्रकाश शर्माले शाहीलाई मुख्यमन्त्री बनाउने बताएका छन्। ‘कर्णालीको नेतृत्व कांग्रेसले गर्ने हो, अब तयार हुनुस् जीवन दाइ,’ शर्माले भने।
त्यतिबेला कांग्रेस कर्णालीका सभापति ललितजंग शाही र संसदीय दलका नेता जीवनबहादुर शाहीसँगै थिए। दुवै जनासहित कांग्रेस कर्णालीका नेताहरूसँग कुराकानी गर्दै जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीका लागि तयार रहन भनेका हुन्।
यसअघि एमालेसँग भएको सहमतिअनुसार, छिट्टै नयाँ मुख्यमन्त्री बन्ने उनको भनाइ थियो। काठमाडौँ फर्केपछि आजै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर टुंगो लगाउने उनले बताएका थिए।
‘कांग्रेस-एमालेबीच आलोपालो गरेर प्रदेश सरकारको नेतृत्व गर्ने सहमति थियो। सो बमोजिम अब आजभोलि नै टुंगो लगाउँछौँ,’ शर्माले भने, ‘बजेटअघि मुख्यमन्त्री फेर्ने कि पछि भन्ने मुख्य कुरा आज टुंगो हुन्छ।’
शाही यसअघि पनि कर्णालीको मुख्यमन्त्री बनेका थिए।
