स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहता र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच मंगलबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटमा नेपाल र भारतबिचको ऐतिहासिक सम्बन्धका साथै स्वास्थ्य क्षेत्रमा भइरहेको द्विपक्षीय सहकार्यका विषयमा गहन छलफल भएको मन्त्रालयले जानकारी दिएको छ।
भेटका क्रममा राजदूत श्रीवास्तवले मन्त्री मेहतालाई सफल कार्यकालको शुभकामना दिएका थिए भने मन्त्री मेहताले नेपालको स्वास्थ्य, खानेपानी तथा सरसफाइ क्षेत्रमा भारत सरकारले पुर्याउँदै आएको निरन्तर सहयोगका लागि कृतज्ञता व्यक्त गरिन्। दुई पक्षबिच भएको वार्तामा नेपालका राष्ट्रिय स्तरका प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सुदृढीकरण र विशिष्टीकृत उपचार केन्द्रहरूको स्थापनाका विषयमा सकारात्मक कुराकानी भएको मन्त्रालयले जनाएको छ।
मन्त्री मेहता र राजदूत श्रीवास्तवबिच आगामी दिनमा स्वास्थ्य पूर्वाधार विकासमा भारतीय सहयोगलाई थप मजबुत र प्रभावकारी बनाउनेबारे समेत सहमति भएको छ। नेपाल र भारतबीच स्वास्थ्य क्षेत्रमा रहिआएको लामो समयदेखिको सहकार्यलाई नयाँ उचाइमा पुर्याउन दुवै पक्षले प्रतिबद्धता जनाएका छन्।
