राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी सचिवालयको बैठक आइतबार बोलाएका छन् ।
बैठक दिउँसो ३:३० बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर (वनस्थली) मा बस्नेछ ।
पार्टीका तर्फबाट जारी सूचनाअनुसार बैठकमा संगठन विस्तार, नीतिगत निर्णय तथा आगामी महाधिवेशनसँग सम्बन्धित विभिन्न महत्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ ।
बैठकको प्रस्तावित कार्यसूचीमा जिल्ला अधिवेशन कार्यविधि २०८३, बैंक खाता सञ्चालन सम्बन्धी विषय, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च तथा विभागहरूको मनोनयन रहेका छन् । यसैगरी महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन गर्ने विषय पनि एजेन्डामा समेटिएको छ ।
त्यसैगरी पार्टीले विज्ञ तथा योजनाहरूका लागि आह्वान गर्ने विषयमा पनि छलफल गर्ने जनाएको छ ।
विविध अन्तर्गत प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी, केन्द्रीय समिति बैठक, साथै संसदीय दलका लागि प्राविधिक सहायता तथा लेवी सम्बन्धी विषयमा समेत निर्णय लिने तयारी गरिएको छ ।
रास्वपाको यो बैठकलाई पार्टीको आगामी रणनीति र संगठनात्मक संरचना मजबुत बनाउने दिशामा महत्वपूर्ण मानिएको छ ।
