विद्युतीय बोलपत्र प्रणाली (ई–बिडिङ) ह्याक गरेर ठेक्का हत्याउने निर्माण कम्पनीका सञ्चालकहरू धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शनिबार साँझ दुई निर्माण कम्पनीका सञ्चाललाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा इन्कोन प्रालिका लेखापाल स्वदेश पोखरेल र कल्पवृक्ष विल्डर्सका सञ्चालक प्रकाश ढुंगाना छन् । सीआईबीले गएको चैतको अन्तिम साताबाट प्रणाली ह्याक गर्ने र गराउने गिरोहलाई पक्राउ गर्न थालेको हो ।
दुई दिनअघि शुक्रबार मात्रै सीआईबीले कालिका कन्ट्रकसनका सञ्चाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डे र भीषण कन्ट्राक्सनका टंककुमार श्रेष्ठ पक्राउ परेका थिए ।
सीआईबीका अनुसार, यो प्रकरणमा हालसम्म प्रहरीले १० जनाभन्दा बढीलाई पक्राउ गरिसकेको छ । पक्राउ परेकाहरूमाथि सीआईबीले विद्युतीय कारोबार ऐन कसुरमा अनुसन्धान थालेको छ ।
