नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपालको कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खेपिरहेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको २७औँ स्मृति दिवसका अवसरमा बोल्दै उनले फागुन २१ को निर्वाचनपछि समग्र लोकतान्त्रिक शक्तिमाथि पनि असर परेको उल्लेख गरे ।
निर्वाचनपछिको सरकारी गतिविधिप्रति चिन्ता व्यक्त गर्दै ज्ञवालीले देश क्रमशः निर्वाचित सर्वसत्तावादतर्फ जाने खतरा देखिएको बताए । उनले ट्रेड युनियन, विद्यार्थी संगठन र स्वतन्त्र सञ्चारमाध्यममाथि हुने हस्तक्षेपले लोकतन्त्र कमजोर हुने संकेत दिएको बताए ।
ज्ञवालीले मनमोहन अधिकारीले युवालाई विश्वासमा लिएर नेतृत्व विकास गरेको उदाहरण प्रस्तुत गर्दै अनुभव र युवाको ऊर्जाको संयोजनबाट मात्र देश अघि बढ्न सक्ने धारणा व्यक्त गरे । साथै, वर्तमान राजनीतिमा पुस्तागत अतिवाद बढ्दै गएको भन्दै त्यसलाई सन्तुलनमा ल्याउनुपर्नेमा जोड दिए ।
