सुधन गुरुङको सम्पत्ति : गोरखा, धनकुटा र चितवनमा जग्गै जग्गा, ८९ तोला सुन, सेयरमा करोडौँ लगानी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार उनी तथा उनको परिवारको नाममा विभिन्न स्थानमा ठूलो परिमाणमा जग्गा, सेयर, बैंक मौज्दात, सवारी साधन र सुन रहेको उल्लेख छ ।

गृहमन्त्री गुरुङको व्यक्तिगत नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको छ । त्यस्तै, उनका पिता दिलबहादुर गुरुङको नाममा चितवनमा ३० कठ्ठा जग्गा रहेको विवरणमा उल्लेख छ । उनका बाजे रामसल गुरुङको नाममा गोरखाको चुमनुब्री क्षेत्रमा २२१ रोपनी जग्गा रहेको सम्पत्ति विवरणमा जनाइएको छ ।

सेयर लगानीतर्फ पनि उनको उल्लेख्य सम्पत्ति देखिएको छ । होप होल्डिङ प्रालिको ३० हजार कित्ता सेयर र लगुम प्रिमियर अपार्टमेन्टको ५७ हजार कित्ता सेयर रहेको विवरणमा उल्लेख छ । धितोपत्र बजारमा सूचीकृत विभिन्न कम्पनीहरूमा गरी करिब २ करोड ७४ लाख ५६ हजार रुपैयाँ बराबरको लगानी रहेको जनाइएको छ ।

त्यस्तै एडभेन्चर भिल्ला प्रालिमा ७० हजार थान सेयर (करिब ७० लाख रुपैयाँ) समेत उनको नाममा रहेको विवरणमा उल्लेख छ । सवारी साधनतर्फ लगुम प्रिमियर अपार्टमेन्टको एक थान कार रहेको छ, जसको मूल्य ४७ लाख ९९ हजार रुपैयाँ रहेको जनाइएको छ ।

बैंक मौज्दातअनुसार लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार रुपैयाँ, नबिल बैंकमा ५६ लाख २५ हजार रुपैयाँ र सानिमा बैंकमा १ हजार ५ सय रुपैयाँ रहेको विवरणमा उल्लेख छ । त्यसैगरी, गृहमन्त्री गुरुङसँग ८९ तोला सुन रहेको पनि विवरणमा उल्लेख छ, जसलाई पैतृक सम्पत्ति भएको जनाइएको छ ।

भ्रष्टाचार निवारण ऐनअनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले पद बहाल गरेको ६० दिनभित्र तथा प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *