बालबालिकासम्बन्धी कसुरमा पक्राउ परेकी लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई रिहा गर्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले म्याद थपका लागि उपस्थित गराइएकी शर्मालाई हिरासतबाट मुक्त गर्न आदेश दिएको हो ।
अदालतले महान्यायाधिवक्ताको कार्यालयबाट यसअघि नै मुद्दा नचलाउने निर्णय भइसकेको अवस्थामा पुनः सोही विषयमा थुनामा राखेर अनुसन्धान गर्नु आवश्यक नदेखिएको ठहर गरेको छ ।
आदेशमा शर्मालाई हिरासतबाट मुक्त गरी बाहिरैबाट अनुसन्धान प्रक्रिया अघि बढाउन भनिएको छ ।
प्रहरीले उनलाई नयाँ जाहेरीका आधारमा चैत १६ गते पक्राउ गरेको थियो । चैत १५ गते परेको उजुरीपछि पुरानै कसुरसँग सम्बन्धित विषयमा उनलाई पुनः नियन्त्रणमा लिइएको थियो ।
म्याद थपका लागि अदालतमा उपस्थित गराउँदा मिसिल फाइल आगजनी भएको सरकारी वकिलले जिकिर गरेका थिए । सोही फाइलको सनाखत गर्न अदालतले यसअघि ३ दिनको म्याद दिएको थियो ।
