नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले गरेका विभिन्न ६ वटा निर्णय सार्वजनिक गरेको छ ।
कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको बैठकले ६ वटा विषयमा निर्णय गरेको हो ।
१. संसदीय दलको नेता चयन : पार्टीले प्रजातान्त्रिक विधिबाट संसदीय दलको नेता चयन गरिएको र यसमा कुनै बाह्य हस्तक्षेप नभएको स्पष्ट पारेको छ ।
२. विवादित अभिव्यक्ति सच्याइएको : कार्यवाहक अध्यक्ष बादलले संसदमा नेपाली सेना, निजामती प्रशासन र अन्य संवैधानिक निकायका बारेमा दिएको अभिव्यक्तिप्रति पार्टीले गम्भीर समीक्षा गर्दै ती निकायहरूप्रति पार्टीको सम्मान र सद्भाव यथावत रहेको स्पष्ट पारेको छ ।
३. साइबर आक्रमणको निन्दाः पार्टीका नेता तथा कार्यकर्ताहरू विरुद्ध भइरहेको नियोजित साइबर आक्रमणको भत्र्सना गर्दै दोषीलाई कानुनी कारबाही गर्न माग गरिएको छ ।
४. विद्यार्थी संगठनमाथिको प्रतिबन्धको विरोधः सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने र प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै त्यसको कडा विरोध गरिएको छ ।
५. विज्ञापन नीतिको विरोधः सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्र दिने सरकारको निर्णयले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने भन्दै सो निर्णय फिर्ता लिन माग गरिएको छ ।
६. वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षाः पश्चिम एसियामा जारी द्वन्द्वका कारण असुरक्षित बनेका नेपालीहरूको उद्धार र सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ ।
