प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद (डिपी) अर्यालले आइतबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार दिउँसो २:३० बजेका लागि शपथ ग्रहणको विशेष समारोह तय गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका हुन् ।
नेपालको संविधानको धारा ९१ बमोजिम निर्वाचित सभामुखलाई राष्ट्रपतिले शपथ गराउने संवैधानिक व्यवस्था छ । नवनिर्वाचित सभामुखको शपथका लागि आवश्यक कुराहरू तयार नै रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सभामुख अर्यालका लागि यो कार्यकाल निकै चुनौतीपूर्ण मानिएको छ । विशेषगरी सदनमा विचाराधीन रहेका महत्वपूर्ण विधेयकहरू अगाडि बढाउने र सत्तापक्ष तथा प्रतिपक्षबीचको बढ्दो राजनीतिक ध्रुवीकरणलाई समन्वय गर्ने मुख्य जिम्मेवारी उनीमाथि छ ।
रास्वपाको उपसभापति समेत रहिसकेका अर्याललाई संसद्को तटस्थता कायम राख्नुपर्ने दबाब छ ।
