सभामुखमा डोलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित

प्रतिनिधिसभा सभामुखको निर्वाचन कार्यक्रमअन्तर्गत तोकिएको समयभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालको मात्र उम्मेदवारी परेको छ।

संघीय संसद् सचिवालयले तोकेको कार्यतालिकाअनुसार शुक्रबार बिहान ११ देखि २ बजेसम्म संसद् सचिवालय सिंहदरबारमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेकामा उक्त अवधिमा अर्यालको मात्रै उम्मेदवारी दर्ता भएको हो।

अर्यालको प्रस्तावकमा रास्वपाका सभापति रवि लामिछाने र समर्थकमा रास्वपाकै सांसदहरू सोबिता गौतम, स्वर्णिम वाग्ले र सुनील लम्साल छन्।

कार्यतालिकाबमोजिम सचिवालयले तोकिएको समयमा दर्ता भएका एकमात्र उम्मेदवारको सूचना प्रकाशन गरेको छ। दर्ता भएका प्रस्तावका सूचनालाई २२ चैतमा बस्ने प्रतिनिधिसभा बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ। एकमात्र उम्मेदवारी परेकाले अर्याल निर्विरोध निर्वाचित हुने निश्चित भएको हो। अब उनी निर्वाचित भएको सदनबाट घोषणा गर्न मात्र बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *