ओली-लेखकलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ जिल्ला अदालतले ज्यानसम्बन्धी कसुरको अनुसन्धानका लागि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ। न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले बिहीबारदेखि लागू हुने गरी दोस्रो पटक म्याद थपको आदेश दिएको हो।

गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका बेला प्रधानमन्त्री रहेका नेकपा एमाले अध्यक्ष ओली र गृहमन्त्री रहेका कांग्रेस नेता लेखकलाई शनिबार प्रहरीले पक्राउ गरेको थियो। उक्त आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिसका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। आइतबार अदालतले पहिलो पटक उनीहरूलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

अनुसन्धान नसकिएको भन्दै प्रहरीले बिहीबार पुनः म्याद थपको माग गरेको थियो। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ को उपदफा (६) बमोजिम दुवै प्रतिवादीलाई हिरासतमा राख्न अनुमति दिइएको हो। पूर्वगृहमन्त्री लेखकको बयान सकिएको तर पूर्वप्रधानमन्त्री ओलीको बयान लिने कार्य जारी रहेको प्रहरीको भनाइ छ।

पूर्वप्रधानमन्त्री ओलीले श्रव्यदृश्य माध्यमबाट आफ्नो स्वास्थ्य अवस्था जटिल रहेको र अस्पतालमा उपचाररत रहेको जानकारी दिएका थिए। अदालतले उनको स्वास्थ्य उपचारमा असर नपर्ने गरी अनुसन्धान अघि बढाउनसमेत आदेश दिएको छ।

यता, ओली र लेखकलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै आइतबार सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण निवेदनमा अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *